काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेशका दुई वडा अध्यक्षको पद खोसिएको छ। पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको आरोपमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको घोषणा गरेको हो।
पद गुमाउनेमा मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पद्मबहादुर विष्ट रहेका छन्। दुवै जना २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए।
उनीहरू अन्य राजनीतिक दलमा आबद्ध भएको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएको थियो। त्यसपछि आयोगले कानुनी व्यवस्था अनुसार दुवै पद रिक्त रहेको सूचना जारी गरेको हो।
स्थानीय तह निर्वाचन ऐनअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेर अर्को दलमा प्रवेश गरेमा सम्बन्धित पद स्वतः रिक्त हुने व्यवस्था छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया