काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट नयाँ संसद् भवन बाट प्रस्तुत गर्ने तयारी अन्तिम समयमा रोकिएको छ।
अब अर्थमन्त्रीले भोलि संघीय संसद्को पुरानै बैठक हलबाट बजेट वक्तव्य प्रस्तुत गर्ने भएका छन्।
सरकारले यस वर्षको बजेट भाषण नयाँ संसद् भवनको अत्याधुनिक हलबाट गर्ने योजना बनाएको थियो।
तर आवश्यक प्राविधिक तयारी समयमै पूरा हुन नसकेपछि उक्त योजना कार्यान्वयन हुन नसकेको हो।
संघीय संसद् सचिवालयका अनुसार नयाँ हलमा ध्वनि प्रणाली, सूचना प्रविधि उपकरण तथा अन्य प्राविधिक संरचना पूर्ण रूपमा तयार भइनसकेकाले संयुक्त बैठक त्यहाँ सार्न सम्भव नभएको जनाएको छ।
संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले प्राविधिक व्यवस्थापन अपूरो रहेकाले प्रतिनिधिसभाको हाल प्रयोग भइरहेको पुरानै हलमै संयुक्त बैठक आयोजना गरिने जानकारी दिएका छन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको वार्षिक बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
सोही प्रावधानअनुसार भोलि अपराह्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिनेछ।
नयाँ संसद् भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि भविष्यका महत्वपूर्ण संसदीय कार्यक्रम त्यहीँबाट सञ्चालन गर्ने तयारी भने जारी रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया