काठमाडौँ । नेपाली कांग्रेस ले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दिन भन्नु अशोभनीय हुने बताएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले सम्बोधन नगर्नु जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवारीपन हुने बताएको हो।
बैठकपछि प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले परम्परा विपरीत गणतन्त्र दिवसको अवसरमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भनेर बाहिर आएको विषयमा छलफल भएको बताइन् ।
उनले भनिन्, ‘जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीपन भएको रूपमा हामीले बुझ्यौँ ।’ सम्बोधन नगर्ने भए गर्न नसक्नुको कारण खुलाएको भए स्वाभाविक मान्न सकिने निष्कर्ष आफूहरूको रहेको थापाले बताइन् ।
‘जान नसक्ने कारण खुलाएको भए उपयुक्त हुन्थ्यो । कारण पनि नखुलाउने र सम्बोधन पनि नगर्ने कार्य गैरजिम्मेवारपन हो,’ उनले भनिन् । प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका छन्।
त्यो बाहेक दलमा संसदीय दलको कार्यसमिति बनाउने र संसद्का विषयगत समितिमा पार्टीका तर्फबाट राखिने धारणा तय गर्न संयोजक तोक्ने विषयमा छलफल भए पनि निर्णय नभएको थापाले बताइन् ।
त्यस्तै बैठकले शाह नेतृत्वको सरकारसँग जनता निराश हुन थालेको निष्कर्ष पनि निकालेको छ। प्रमुख सचेतक थापाले बहुमतको बलमा सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको निष्कर्ष बैठकले निकालेको बताइन्।
सदनलाई पेलेर सञ्चालन गरिएकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ। विगतमा सरकारले विपक्षी दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने गरेको तर, अहिले दुई तिहाइ मत छ भन्दै पेलेर अघि बढ्दा जनतामा निराशा छाएको कांग्रेसको बुझाइ छ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया