एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गको विषयलाई लिएर अमेरिकाको निकट सहयोगी राष्ट्र ओमानलाई कडा चेतावनी दिएका छन्। इरानसँग मिलेर उक्त जलमार्ग नियन्त्रण गर्न खोजिए अमेरिकाले सैन्य प्रतिक्रिया दिन सक्ने संकेत उनले दिएका हुन्।
बुधबार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय समुद्री मार्ग भएकाले सबै राष्ट्रका लागि खुला रहनुपर्ने बताएका थिए। उनले ओमानले इरानको पक्ष लिएर जलमार्ग नियन्त्रण गर्ने प्रयास गरे अमेरिकाले त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे।
ट्रम्पले भने, ‘यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो। ओमानले पनि अन्य राष्ट्रसरह जिम्मेवार व्यवहार गर्नुपर्छ, अन्यथा अमेरिका कडा कदम चाल्न बाध्य हुनेछ।’
ट्रम्पको अभिव्यक्तिपछि समाचार संस्था एएफपीले उनले इरानको सट्टा झुक्किएर ओमानको नाम लिएका हुन् कि भनेर ह्वाइट हाउससँग स्पष्टिकरण मागेको थियो। तर, त्यसबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकी विदेश मन्त्रालयले पनि ट्रम्पको टिप्पणीको भिडियो र लिखित विवरण कुनै संशोधनबिना सार्वजनिक गरेको जनाइएको छ।
ओमानलाई अमेरिकाको मध्यपूर्वस्थित महत्त्वपूर्ण साझेदार राष्ट्रका रूपमा हेरिन्छ। उसले लामो समयदेखि क्षेत्रीय तनाव कम गर्न तथा इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
पछिल्ला दिनहरूमा ट्रम्प प्रशासनले इरानमाथि दबाब बढाइरहेको छ। केही दिनअघि मात्रै ट्रम्पले इरानसँग सम्झौता नजिक पुगेको बताएका थिए। तर, होर्मुज जलमार्ग सञ्चालनसम्बन्धी वार्ता पुनः अवरुद्ध भएपछि उनी असन्तुष्ट बनेको विश्लेषण गरिएको छ।
यसैबीच, इरानले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने र त्यसको आम्दानी ओमानसँग बाँड्ने प्रस्ताव अघि सारेको संकेत सार्वजनिक भएपछि क्षेत्रीय तनाव थप चुलिएको बताइएको छ।
होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ। विश्वभर ढुवानी हुने कच्चा तेलको ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया