काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरी गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो पहिलो पूर्ण बजेट प्रस्तुत गर्न लागेका हुन्।

advertisement

नयाँ संविधानको व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसकै दिन बजेट ल्याउनुपर्ने व्यवस्था बमोजिम भोलि अपराह्न ४:०० बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण हुनेछ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

यसपटकको बजेटमा निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले जनतामाझ प्रस्तुत गरेको ‘वाचापत्र’, सरकार गठन भएपछि सार्वजनिक गरिएको शासकीय सुधारको ‘१०० बुँदे कार्ययोजना’ र संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तहरूलाई मुख्य आधार बनाइएको छ।

बजेट निर्माणका क्रममा संघीय संसद्का दुवै सदनमा सांसदहरूले राख्नुभएको सुझाव र सरकारको सुशासनको मार्गचित्रलाई विशेष प्राथमिकता दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यसपटकको बजेटलाई विगतको तुलनामा बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने सरकारको लक्ष्य छ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ (सीमा) तय गरेको थियो। सोही सिलिङभित्रै रहेर सरोकारवाला निकायहरूको सुझावका आधारमा बजेटलाई अन्तिम रूप दिइएको छ।

यसअघि चालू आर्थिक वर्षको मूल बजेट रु १९ खर्ब ६४ अर्ब बराबरको थियो। तर, गत भदौ २३ र २४ मा देशमा चर्किएको आन्दोलन र राजनीतिक परिवर्तनपछि तत्कालीन सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत चालू बजेटको वास्तविक आकारलाई घटाएर १६ खर्ब ८८ अर्बमा सीमित गरेका थिए।

चालू वर्षको मूल बजेटभन्दा आगामी वर्षको बजेटको आकार केही सानो भए पनि मध्यावधि समीक्षाको संशोधित आकारभन्दा भने यो ठुलो हुने देखिएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com