काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई हाल सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार थापाले आफ्नी ३१ दिनकी छोरी प्रिन्सी थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए । त्यसपछि उनले शिशुलाई तत्काल खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्याएका थिए ।
अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी थापाले डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया