काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार र जनसत्ताको स्थापनाका लागि भएका ऐतिहासिक संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै उनले परिवर्तनका लागि संघर्षरत राजनीतिक नेतृत्व, घाइते तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
नेता आङदेम्बेले वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको निर्णायक मोड भएको उल्लेख गरेका छन्। उनले गणतन्त्र कुनै संयोगले प्राप्त नभई नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक चेतनाको परिणामस्वरूप स्थापित ऐतिहासिक उपलब्धि भएको स्पष्ट पारेका छन्।
उनका अनुसार गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको छ। समावेशिता, समानता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको आधार यही व्यवस्थाले सुनिश्चित गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रणालीले नागरिक अधिकारलाई संस्थागत रूपमा मजबुत बनाएको धारणा व्यक्त गरेका छन्।
साथै उनले गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको बताउँदै यसको विकल्प कुनै पनि निरङ्कुश, वंशवादी वा जनउत्तरदायित्वविहीन व्यवस्था हुन नसक्ने दृढता व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ।
उनले समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माणका लागि लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा अपरिहार्य रहेको उल्लेख गर्दै सबै राजनीतिक दल, नेतृत्व र नागरिक समाज जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। लोकतन्त्रलाई व्यवहारिक रूपमा सुदृढ गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु नै गणतन्त्रको वास्तविक उद्देश्य भएको उनले बताएका छन्।
नेपाली कांग्रेसले पनि गणतन्त्रलाई संस्थागत गर्दै देशको विकास, स्थायित्व र सुशासनमा योगदान पुर्याउन निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ। नेताहरूले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ गर्दै नागरिक अधिकारको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया