एजेन्सी । युक्रेन युद्धपछि रुससँगको सम्बन्धलाई लिएर सावधानी अपनाइरहेका दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग प्रत्यक्ष उच्चस्तरीय संवाद गर्ने तयारी गरेका छन्। आगामी जुन १७–१८ मा रुसको कजानमा हुने आसियान–रुस शिखर सम्मेलनमा क्षेत्रीय नेताहरूको सहभागिता हुने भएको छ।

फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारोले सामाजिक सञ्जाल एक्समार्फत आफूले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ सँग टेलिफोन संवाद गरेको जानकारी दिएकी छन्। उनले कजानमा हुने आसियान–रुस शिखर सम्मेलन नै उक्त छलफलको मुख्य केन्द्रबिन्दु रहेको बताएकी छन्।

advertisement

मनिलास्थित रुसी दूतावासका अनुसार लाजारो र लाभरोभबीच आसियानसँग रुसको ‘रणनीतिक साझेदारी विस्तार’ गर्ने सम्भावनाबारे समेत विचारविमर्श भएको छ। युक्रेन युद्धपछि पश्चिमी देशहरूसँग तनाव बढिरहेको अवस्थामा रुसले एसियाली मुलुकहरूसँग सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको देखिएको छ।

आसियान (ASEAN) मा फिलिपिन्स, ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, सिङ्गापुर, थाइल्यान्ड, भियतनाम र पूर्वी टिमोर सदस्य रहेका छन्। सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि अधिकांश सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र महासभामा मस्कोविरुद्धका प्रस्तावहरूलाई समर्थन गरेका थिए। त्यसका बाबजुद पनि आसियानले रुसलाई ‘संवाद साझेदार’ का रूपमा कायम राख्दै आएको छ।

आसियानभित्र रुस तथा पश्चिमी मुलुकप्रतिको दृष्टिकोण एकरूप छैन। फिलिपिन्सजस्ता केही राष्ट्रहरू अमेरिका नजिक मानिन्छन् भने इन्डोनेसिया, भियतनाम, लाओसजस्ता देशहरूको चीन र रुससँग गहिरो व्यापार तथा सुरक्षा सम्बन्ध रहेको छ। विशेषगरी भियतनाम र लाओसले युक्रेनसम्बन्धी संयुक्त राष्ट्र प्रस्तावमा मतदान नगरी तटस्थता अपनाएका थिए।

ऊर्जा सुरक्षाको आवश्यकता पनि रुस–आसियान सम्बन्ध विस्तारको प्रमुख कारणका रूपमा देखिएको छ। फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामलगायत देशहरूले अन्तर्राष्ट्रिय इन्धन मूल्य वृद्धिपछि रुसी कच्चा तेल तथा ऊर्जा स्रोतप्रति चासो देखाएका छन्।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर ले शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ। सिङ्गापुरका नेताको सहभागिता भने अझै निश्चित भएको छैन। सिङ्गापुरले युक्रेन युद्धपछि रुसमाथि प्रतिबन्ध लगाउँदै कडा आलोचना गरेको थियो।

हाल आसियान–रुस सम्बन्ध समन्वय गर्ने जिम्मेवारी म्यान्मासँग रहेको भए पनि त्यहाँको सैन्य शासनका कारण उच्चस्तरीय सहभागितामा प्रतिबन्ध कायम रहन सक्ने सम्भावना छ। सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा उत्पन्न राजनीतिक संकटका कारण आसियानले त्यहाँका शीर्ष नेताहरूलाई उच्चस्तरीय बैठकहरूमा सहभागी हुन रोकेको छ।

आसियानले म्यान्मा संकट समाधानका लागि अघि सारेको पाँचबुँदे शान्ति योजनाले अपेक्षित प्रगति गर्न नसकेपछि क्षेत्रीय असन्तुष्टि कायमै रहेको बताइन्छ। यसबीच कजान सम्मेलनले रुस–आसियान सम्बन्धलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com