काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा पार्टी एकता भएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई दलबीच एकताको घोषणा गरेका हुन् । कार्यक्रममा उनले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई उज्यालो नेपाल पार्टीमा स्वागत गर्दै नयाँ राजनीतिक यात्राको सुरुआत भएको बताए ।
घिसिङले उज्यालो नेपाल पार्टीलाई मुलुकको सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न राजनीतिक दलहरूसँग एकता र सहकार्यको प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले यसअघि राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता भइसकेको उल्लेख गरे ।
उनका अनुसार अहिले विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू पनि उज्यालो नेपाल पार्टीमा आबद्ध हुने क्रम बढिरहेको छ ।
‘उज्यालो नेपाल पार्टी अब वास्तविक राजनीतिक विकल्पका रूपमा स्थापित हुनेछ,’ घिसिङले भने, ‘आगामी स्थानीय र प्रदेश निर्वाचनमा पार्टीले सशक्त उपस्थिति जनाउनेछ र त्यसपछिको निर्वाचनमार्फत देशको नेतृत्व गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ ।’
उनले एकता प्रक्रियामा सहभागी सबैलाई बधाई दिँदै पार्टीको भावी रणनीति, संगठनात्मक संरचना र सहमतिका अन्य विषयबारे दुवै दलका महासचिवहरूले थप जानकारी दिने बताए ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया