काठमाडौं । सरकारले उपभोक्तालाई बिल लिने संस्कृतिमा प्रोत्साहन गर्न डिजिटल भुक्तानीमा विशेष भ्याट छुट दिने व्यवस्था लागू गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल माध्यमबाट भुक्तानी गर्दा बिजक जारी भएकै समयमा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुट प्रदान गरिने जानकारी दिएका हुन् ।
सरकारले कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित यस्तो योजना अघि सारेको जनाएको छ ।
यसका साथै, उपभोक्तालाई बिल लिने र व्यवसायीलाई बिल दिने संस्कृतिमा प्रोत्साहन गर्न ‘लट्री’ लगायत आकर्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री वाग्लेले बताए ।
त्यस्तै, मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रक्रिया अब पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत सञ्चालन गरिने सरकारको योजना रहेको छ । यसबाट कर प्रशासनलाई थप सहज, छिटो र पारदर्शी बनाउने लक्ष्य राखिएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया