काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा फरक विषयवस्तु र गहिरो भावनात्मक प्रस्तुतिका साथ निर्माण गरिएको चलचित्र आई एम जित बहादुरको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। साथै ट्रेलरको ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको छ।

सार्वजनिक ट्रेलरले कलाकार बन्ने सपना बोकेको एक निम्न वर्गको युवाको संघर्ष, आशा, पीडा, असफलता र आत्मविश्वासको यात्रालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको छ। गाउँको साधारण परिवेशबाट शहरमा ठूलो सपना बोकेर आएको जितबहादुर अभिनयको संसारमा आफ्नो पहिचान बनाउन अनेक चुनौतीसँग जुधिरहेको देखिन्छ। कलाकारिताप्रतिको समर्पण, जीवनका कठिन मोड र सपनालाई जोगाइराख्ने उसको संघर्षले ट्रेलरलाई भावनात्मक उचाइ दिएको छ।

advertisement

चलचित्र कुनै व्यक्तिको जीवनीमा आधारित नभई कलाकारिता क्षेत्रमा आफ्नो अस्तित्व खोजिरहेका हजारौं संघर्षशील युवाको प्रतिनिधि कथाका रूपमा निर्माण गरिएको जनाइएको छ। सपनालाई पछ्याउने क्रममा एक युवाले भोग्नुपर्ने सामाजिक दबाब, आर्थिक अभाव, आत्मसंघर्ष र सम्बन्धका उतारचढावलाई चलचित्रले संवेदनशील र यथार्थपरक शैलीमा प्रस्तुत गरेको देखिन्छ।

चलचित्रमा जितु नेपाल फरक र गम्भीर भूमिकामा देखिएका छन्। लामो समयदेखि हास्य अभिनयमार्फत दर्शकमाझ लोकप्रिय छवि बनाएका उनले यस चलचित्रमा संवेदनशील र संघर्षशील पात्रलाई जीवन्त ढंगले प्रस्तुत गरेका छन्। ट्रेलरमा उनको अभिनयलाई दर्शकले विशेष रूपमा रुचाउने अपेक्षा गरिएको छ।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को कथा तथा निर्देशनमा निर्माण भएको चलचित्रमा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा रहेकी छन्। साथै चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारह शर्मा, पवन खतिवडा, निरज नेपाल लगायत कलाकारहरूको अभिनय रहेको छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले चलचित्रको छायांकन गरेका हुन्। चलचित्रको वितरण आर आरफिल्मसले गर्नेछ भने डिजिटल अधिकारले लिएको छ।

ट्रेलरले आई एम जित बहादुर लाई केवल मनोरञ्जनात्मक चलचित्रभन्दा माथि उठाएर सपना, संघर्ष, कलाकारिता र आत्मविश्वासको गहिरो कथा बोकेको चलचित्रका रूपमा प्रस्तुत गरेको छ। सपना देख्ने र त्यसका लागि निरन्तर संघर्ष गरिरहेका युवाहरूको भावनासँग चलचित्रले गहिरो सम्बन्ध स्थापित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com