काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारका गतिविधिमाथि नागरिकले निरन्तर निगरानी राख्दै आवश्यक पर्दा सचेत गराउनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार सही मार्गबाट विचलित भएमा वा काममा ढिलासुस्ती देखिएमा नागरिकले खुला रूपमा खबरदारी गर्नुपर्ने धारणा व्यक्त गरे।
‘सरकारलाई पनि समय–समयमा घण्टी बजाइदिनुहोस्। यहाँ गल्ती भइरहेको छ, यो काम छिटो गर्नुपर्छ, यसरी अघि बढ्नुपर्छ भनेर सचेत गराइरहनु आवश्यक छ,’ उनले भने।
सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण प्रक्रियामा नागरिकको रचनात्मक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सरकारका कमजोरी र कमीकमजोरीबारे समयमै सुझाव तथा आलोचना गर्न आग्रह गरे।
उनले सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने जिम्मेवारी वर्तमान पुस्ताकै काँधमा रहेको बताए। देशलाई समृद्ध र अवसरयुक्त बनाउने अभियानमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
अर्यालले रोजगारी, लगानी र अवसरको खोजीमा विदेशिएका नेपाली युवालाई स्वदेश फर्किने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। साथै नेपाललाई बस्न, काम गर्न र लगानी गर्न आकर्षक तथा भरोसायोग्य गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया