काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रभावबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको लहरसँगै उदाएका राजनीतिक शक्तिहरूमा स्पष्ट वैचारिक आधार, संगठित आन्दोलन र स्थापित नेतृत्वको अभाव रहेको टिप्पणी गरे।
नेता पुनका अनुसार डिजिटल युगमा राजनीतिक एजेण्डा सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र सञ्चार माध्यममार्फत निर्माण हुने प्रवृत्ति बढ्दै गएको छ। यस्ता एजेण्डाहरू कुनै निश्चित नेतृत्व वा संगठनको मार्गदर्शनमा नभई समान सोच भएका समूहहरूबाट अघि बढ्ने गरेको उनको भनाइ थियो।
‘अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा एजेण्डा निर्माण हुन्छ। त्यसमा परम्परागत अर्थमा नेतृत्व गर्ने कुनै एक व्यक्ति हुँदैन। समान धारणा भएका समूहहरू मिलेर विषय उठाउँछन् र त्यसले राजनीतिक बहसको रूप लिन्छ,’ उनले भने।
पुनले डिजिटल माध्यमबाट फैलिने राजनीतिक लहर अत्यन्त तीव्र र आक्रामक हुने भएकाले त्यसको प्रभाव कहिले र कहाँ प्रकट हुन्छ भन्ने अनुमान गर्न कठिन हुने बताए।
उनले पछिल्ला निर्वाचनहरूमा पनि सामाजिक सञ्जालको प्रभाव स्पष्ट रूपमा देखिएको उल्लेख गरे। मतदान केन्द्रमा भौतिक उपस्थितिको आधारमा नतिजा अनुमान गर्न कठिन हुने र अन्तिम परिणाम धेरैपटक अप्रत्याशित रूपमा आउने गरेको उनको भनाइ थियो।
सांसद पुनले राजनीतिक विचार, आन्दोलन, त्याग र बलिदानको जगमा नउभिएका शक्तिहरूले समाज र राज्यलाई दीर्घकालीन रूपमा नेतृत्व गर्न नसक्ने दाबी गरे।
‘विचार, आन्दोलन, संघर्ष र बलिदानको आधारमा निर्माण नभएका शक्तिहरू क्षणिक रूपमा उदाउन सक्छन्, तर दीर्घकालसम्म टिक्न सक्दैनन्,’ उनले भने।
उनले स्थायी राजनीतिक शक्ति निर्माणका लागि स्पष्ट विचार, संगठनात्मक आधार र जनतासँगको दीर्घकालीन सम्बन्ध अपरिहार्य हुने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया