काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा ‘लिडरसिप एकेडेमी’ को प्रशिक्षण कार्यक्रम पूरा गर्नुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल थारु संघको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सक्षम, दक्ष र जिम्मेवार नेतृत्व विकासका लागि कांग्रेसले नयाँ मापदण्ड लागू गर्न लागेको जानकारी दिए।

advertisement

थापाका अनुसार पार्टीलाई वैचारिक रूपमा सुदृढ, संगठनात्मक रूपमा गतिशील र नेतृत्वका हिसाबले सक्षम बनाउन कांग्रेसले आफ्नै नेतृत्व विकास प्रतिष्ठान सञ्चालन गर्ने तयारी गरेको छ।

उनले आगामी दिनमा स्थानीय तहदेखि संघीय संसद्सम्म कांग्रेसको तर्फबाट निर्वाचन लड्न चाहने सबै आकांक्षी उम्मेदवारले एकेडेमीमा आबद्ध भएर निर्धारित पाठ्यक्रम पूरा गर्नुपर्ने बताए।

‘अब ७५३ वटै स्थानीय तहमा कांग्रेसको तर्फबाट निर्वाचन लड्न चाहने जोसुकैले पनि नेतृत्व एकेडेमीमा भर्ना भएर निश्चित प्रशिक्षण पूरा गर्नुपर्नेछ,’ थापाले भने, ‘नयाँ उम्मेदवार होस् वा यसअघि निर्वाचित भइसकेको व्यक्ति, आवश्यक कोर्स पूरा नगरी उम्मेदवार बन्न सकिने छैन।’

उनले नेतृत्व विकास, राजनीतिक प्रशिक्षण, सुशासन, सार्वजनिक उत्तरदायित्व र लोकतान्त्रिक मूल्य–मान्यताबारे व्यवस्थित शिक्षा प्रदान गरेर पार्टीभित्र गुणस्तरीय नेतृत्व उत्पादन गर्ने लक्ष्य रहेको बताए।

सभापति थापाले कांग्रेसलाई आधुनिक, व्यवस्थित र प्रतिस्पर्धी राजनीतिक संगठनका रूपमा रूपान्तरण गर्न नेतृत्व विकास कार्यक्रमलाई संस्थागत गरिने पनि स्पष्ट पारे।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com