एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको भन्दै ह्वाइट हाउसले उनको नयाँ मेडिकल रिपोर्ट सार्वजनिक गरेको छ।

आगामी जुन १४ मा ८० वर्ष पुग्न लागेका ट्रम्प नियमित रूपमा तीन प्रकारका औषधि सेवन गरिरहेको र चिकित्सकहरूले उनलाई तौल घटाउन सुझाव दिएको रिपोर्टमा उल्लेख गरिएको छ।

advertisement

ह्वाइट हाउसका चिकित्सक डा. सन पी. बार्बाबेलाद्वारा जारी प्रतिवेदनअनुसार ट्रम्पले कोलेस्ट्रोल नियन्त्रणका लागि ‘रोसुभास्टाटिन’ र ‘एजेटिमिब’ सेवन गरिरहेका छन् भने मुटुसम्बन्धी जोखिम कम गर्न कम मात्रा (लो–डोज) को ‘एस्पिरिन’ पनि लिइरहेका छन्।

रिपोर्टमा ट्रम्पको मुटु, फोक्सो तथा स्नायुसम्बन्धी स्वास्थ्य अवस्था बलियो रहेको उल्लेख गर्दै उनलाई राष्ट्रपति पदको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको निष्कर्ष निकालिएको छ।

चिकित्सकका अनुसार नियमित सार्वजनिक कार्यक्रम, बैठक, यात्रालगायतका गतिविधिले उनको सक्रिय जीवनशैलीलाई सहयोग पुर्‍याएको छ।

ट्रम्पको स्वास्थ्य परीक्षण गत मंगलबार वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा गरिएको थियो।

उक्त परीक्षणमा २२ जना विशेषज्ञ चिकित्सक सहभागी भएका थिए।

स्वास्थ्य परीक्षणका क्रममा सीटी स्क्यान, मुटुको इमेजिङ, क्यान्सर स्क्रिनिङ तथा विभिन्न रोग प्रतिरोधात्मक परीक्षणहरू गरिएको जनाइएको छ।

मेडिकल रिपोर्टअनुसार ट्रम्पको तौल हाल २३८ पाउन्ड (करिब १०८ किलोग्राम) पुगेको छ।

गत वर्षको परीक्षणमा उनको तौल २२४ पाउन्ड (करिब १०१.६ किलोग्राम) रहेको थियो।

६ फिट ३ इन्च उचाइ भएका ट्रम्पको तौल बढ्दै गएको देखिएपछि चिकित्सकहरूले तौल नियन्त्रण, स्वस्थ आहार र नियमित व्यायाममा विशेष ध्यान दिन सुझाव दिएका छन्।

पछिल्लो समय ट्रम्पको हातमा देखिएका डाम तथा नीलडामका विषयमा उठेका प्रश्नहरूको पनि रिपोर्टमा जवाफ दिइएको छ।

चिकित्सक बार्बाबेलाका अनुसार बारम्बार सर्वसाधारण तथा समर्थकहरूसँग हात मिलाउने बानी र एस्पिरिन सेवनका कारण उनका हातमा हल्का निशान देखिने गरेका हुन्।

यद्यपि केही स्वतन्त्र चिकित्सकहरूले उक्त व्याख्याप्रति प्रश्न उठाएका छन्।

रिपोर्टमा ट्रम्पको खुट्टाको तल्लो भागमा देखिएको हल्का सुन्निने समस्या अघिल्लो वर्षको तुलनामा सुधार भएको उल्लेख गरिएको छ।

यसअघि ह्वाइट हाउसले उनलाई ‘क्रोनिक भेनस इन्सफिसियन्सी’ नामक उमेरसँग सम्बन्धित रक्तसञ्चार समस्या रहेको जानकारी दिएको थियो।

ट्रम्प अमेरिकी इतिहासमा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा पाको उमेरका नेताहरूमध्ये एक हुन्।

पछिल्लो समय उनको स्वास्थ्य, सक्रियता तथा उमेरका विषयमा विभिन्न बहस भइरहेका बेला सार्वजनिक गरिएको यो रिपोर्टले उनी गम्भीर स्वास्थ्य समस्याबाट मुक्त रहेको दाबी गरेको छ।

मेडिकल प्रतिवेदनको अर्को उल्लेखनीय पक्ष ‘कार्डियाक एज’ अर्थात् मुटुको जैविक उमेरसम्बन्धी दाबी हो।

इलेक्ट्रोकार्डियोग्रामको आधारमा ट्रम्पको मुटुको अवस्था उनको वास्तविक उमेरभन्दा करिब १४ वर्ष कम उमेरको व्यक्तिसरह रहेको चिकित्सक बार्बाबेलाले उल्लेख गरेका छन्।

तर केही स्वतन्त्र स्वास्थ्य विज्ञहरूले यस्तो विवरणलाई औपचारिक मेडिकल रिपोर्टमा समावेश गर्नु असामान्य भएको टिप्पणी गरेका छन्।

स्वास्थ्य परीक्षणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत सबै परीक्षणको नतिजा ‘उत्कृष्ट’ आएको दाबी गरेका थिए।

यद्यपि केही चिकित्सकहरूले उनले उल्लेख गरेको ‘छ महिनाको फिजिकल परीक्षण’ सम्बन्धी दाबीमाथि प्रश्न उठाएका छन्।

उनीहरूका अनुसार पूर्ण शारीरिक परीक्षण सामान्यतः वर्षमा एकपटक मात्र गरिन्छ।

ह्वाइट हाउसले भने ट्रम्पको समग्र स्वास्थ्य अवस्था उत्कृष्ट रहेको र उनी राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको दोहोर्‍याएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com