काठमाडौं । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगनकुमार थापा पक्षबीच विवाद चर्किरहेका बेला वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सबै नेताहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले आपसी आरोप–प्रत्यारोप र प्रतिक्रियाबाट मात्रै पार्टीको समस्या समाधान नहुने बताएका छन्। उनले पार्टीभित्र देखिएका कमजोरीको गम्भीर समीक्षा गरेर सबैलाई एकै ठाउँमा उभिन आह्वान गरेका हुन्।

शर्माले अहिले कांग्रेसभित्र देखिएको विवादलाई केवल व्यक्ति र नेतृत्वको विषयका रूपमा मात्र बुझ्न नहुने संकेत गर्दै विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयलाई मुख्य प्रश्नका रूपमा प्रस्तुत गरेका छन्।

उनले लेखेका छन्, ‘अब कोही नअल्मलिऔँ, सबै जुटौँ मूल बाटोमा ! हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ । मन माझौँ– घरभित्रै । मन जोडौँ– घरभित्रै।’

शर्माले कांग्रेसको आन्तरिक विवादले पार्टीलाई मात्रै नभई समग्र मुलुकलाई असर गर्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्।

‘आखिर हामी सबै जान्दछौँ– प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १० मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com