काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण, प्रवद्र्धन र सशक्तीकरणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता रहेको बताइन् ।

advertisement

उनले नेपाली महिलाले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वाधीनताका आन्दोलनमा पुर्याएको योगदान गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान अधिकारहरू ऐतिहासिक संघर्ष, त्याग र योगदानको उपलब्धि भएको बताइन् ।

उनले भनिन्, ‘नेपालको संविधानले महिलालाई समानता, सम्मान, सहभागिता, मौलिक हक प्रदान गरेको छ र संविधानको धारा ३८ ले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा अन्त्य गर्दै सम्मान, वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक र राज्यका सबै संरचनामा समानुपातिक समावेशी सहभागिताको अधिकार सुनिश्चित गरेको छ ।’

मन्त्री बादीले सरकारद्वारा शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशीलता, सामाजिक सुरक्षा तथा जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताइन् । साथै लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह, छाउपडी, बोक्सी आरोप र दाइजो प्रथाजस्ता कुप्रथाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘लैंगिक हिंसा, घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, छाउपडी, बोक्सी आरोप, दाइजो प्रथा लगायत सबै प्रकारका विभेद र कुप्रथाको अन्त्यका लागि नेपाल सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।’

उनले ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क आपत्कालीन हवाई उद्धार सेवा सञ्चालनमा रहेको जानकारी दिइन् । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको उल्लेख गर्दै हालको मन्त्रिपरिषद्मा महिलाको सहभागिता ३७.५ प्रतिशत पुगेको बताइन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com