काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागेर स्वस्थ जीवनशैली अपनाउन सबै नागरिकलाई आह्वान गरेकी छन्। ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूलाई आजैदेखि यसको लत छोड्ने सङ्कल्प गर्न आग्रह गरेकी हुन्।

मन्त्री मेहताले सुर्तीजन्य पदार्थको लतबाट मुक्त हुने प्रक्रिया सुरुआती चरणमा चुनौतीपूर्ण देखिए पनि दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको उचित परामर्शले यसलाई सफलतापूर्वक त्याग्न सकिने बताएकी छन्।

advertisement

उनले आधुनिक र आकर्षक देखिने नाममा बजारमा फैलिरहेका भेप, इ–सिगरेट र हुक्काजस्ता उत्पादनप्रति विशेष सचेत रहन आग्रह गर्दै यस्ता वस्तुहरू पनि स्वास्थ्यका लागि उत्तिकै हानिकारक रहेको स्पष्ट पारेकी छन्। परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै भेप र इ–सिगरेटमा समेत निकोटिन तथा अन्य विषाक्त तत्व हुने भएकाले भ्रममा नपर्न उनले अनुरोध गरेकी छन्।

सुर्तीजन्य पदार्थको लतबाट छुटकारा पाउन चाहने व्यक्तिहरूलाई स्वास्थ्य मन्त्रालयले आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने व्यवस्था रहेको पनि मन्त्री मेहताले जानकारी दिएकी छन्।

सन्देशमा उनले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गम्भीर जनस्वास्थ्य समस्याका रूपमा विकसित भइरहेको उल्लेख गर्दै पछिल्लो तथ्याङ्कअनुसार करिब २९ प्रतिशत नेपालीले कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको बताएकी छन्। साथै, हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनसँग सम्बन्धित कारणले हुने गरेको तथ्यले यस समस्याको गम्भीरता झल्काउने उनले उल्लेख गरेकी छन्।

मन्त्री मेहताले विशेषगरी किशोर–किशोरीलाई लक्षित गरेर सुर्ती उद्योगले अपनाइरहेका नयाँ बजार रणनीतिप्रति चिन्ता व्यक्त गरेकी छन्। विभिन्न स्वाद, आकर्षक प्याकेजिङ र आधुनिक जीवनशैलीको प्रतीकका रूपमा प्रस्तुत गरिएका निकोटिनयुक्त उत्पादनहरू सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिनु चिन्ताजनक रहेको उनको भनाइ छ।

‘यस्ता भ्रमपूर्ण प्रचारले युवापुस्तालाई कुलततर्फ आकर्षित गरिरहेको छ। त्यसैले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ,’ सन्देशमा भनिएको छ।

मन्त्री मेहताले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले विशेष जोड दिएको बताउँदै जनस्वास्थ्य संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन्।

नेपालमा यस वर्ष ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने मूल नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com