काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई रोष्ट्रममा उभिएर प्रश्न गर्न आग्रह गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले नियमापत्ति जनाएका छन्।

नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइ प्रक्रियाविपरीत रहेको बताएका हुन्।

advertisement

बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था स्पष्ट रूपमा नियमावलीमा उल्लेख रहेको स्मरण गराए। उनका अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न बैठकअघि नै निर्धारित प्रक्रियाअनुसार दर्ता गर्नुपर्ने व्यवस्था छ, तर त्यसको पालना नगरी प्रत्यक्ष रूपमा रोष्ट्रमबाट प्रश्न गर्न आग्रह गरिएको भन्दै उनले आपत्ति जनाए।

दुलालले संविधान र प्रतिनिधिसभा नियमावलीले निर्धारण गरेको प्रक्रियालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै सदन निर्धारित नियम र परम्पराअनुसार सञ्चालन हुनुपर्ने धारणा राखे।

एमालेका प्रमुख सचेतक महरले पनि नियम ५६ कै आधारमा नियमापत्ति जनाउँदै प्रधानमन्त्रीसँग प्रश्नोत्तरको प्रक्रिया नियमावलीले स्पष्ट रूपमा निर्दिष्ट गरेको बताए। उनले संसदीय अभ्यास र कानुनी व्यवस्थाको सम्मान गर्दै सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए।

दुवै दलका प्रमुख सचेतकहरूले संसद्को कार्य सञ्चालन संविधान र नियमावलीअनुरूप हुनुपर्ने तथा स्थापित संसदीय प्रक्रियाको पालना गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com