काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेट आकारका हिसाबले संयमित रहेको र यसलाई अनावश्यक रूपमा ठूलो बजेटका रूपमा चित्रित गरिएको बताएका छन् ।
बजेट सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले मुलुकको आर्थिक क्षमता र वास्तविक आवश्यकतालाई आधार बनाएर बजेट निर्माण गरेको स्पष्ट पारे । उनका अनुसार बजेटको आकार मूल्याङ्कन गर्दा कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपातलाई आधार मान्नुपर्छ ।
विगतका वर्षहरूमा बजेटको आकार जीडीपीको ३७ प्रतिशतसम्म पुगेको स्मरण गराउँदै उनले यसपटकको बजेट भने अनुमानित जीडीपीको करिब २८.५ प्रतिशतमा सीमित रहेको बताए ।
“बजेट अत्यधिक ठूलो आएको भन्ने धारणा सही होइन,” वाग्लेले भने, “७४ खर्ब ५८ अर्ब रुपैयाँको अनुमानित जीडीपीको तुलनामा यसपटकको बजेट २८.५ प्रतिशत हाराहारीमा मात्र छ, जुन अपेक्षाकृत सानो आकारको बजेट हो।”
उनले भूकम्पपछिका वर्षहरूमा बजेटको आकार प्रायः जीडीपीको ३० प्रतिशतभन्दा माथि रहने गरेको उल्लेख गर्दै यसपटक त्यस प्रवृत्तिलाई परिवर्तन गरिएको बताए । राज्यको वित्तीय क्षमता र खर्च गर्ने सामर्थ्यलाई ध्यानमा राखेर बजेट ल्याइएको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले मुलुकको सार्वजनिक ऋण हाल जीडीपीको करिब ४३ प्रतिशत बराबर रहेको जानकारी पनि दिए । आगामी आर्थिक वर्षका लागि ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखिएको उनले बताए ।
उनका अनुसार सरकारले लिने ऋणको एक हिस्सा नयाँ कार्यक्रम सञ्चालनमा मात्र नभई विगतमा लिइएको ऋणको साँवा–ब्याज भुक्तानीमा समेत खर्च हुने गर्छ । हालसम्म नेपालको कुल सार्वजनिक ऋण करिब २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए ।
राजस्वतर्फ आगामी वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य निर्धारण गरिएको उल्लेख गर्दै वाग्लेले यो लक्ष्य केही हदसम्म चुनौतीपूर्ण रहेको स्वीकार गरे । विगत केही वर्षमा राजस्व वृद्धिदर ८ देखि ९ प्रतिशतको हाराहारीमा सीमित रहे पनि सरकारले आगामी वर्ष करिब २० प्रतिशत वृद्धि हासिल गर्ने लक्ष्य लिएको उनले बताए ।
उनले आर्थिक गतिविधि विस्तार, कर प्रशासनको सुधार र राजस्व चुहावट नियन्त्रणमार्फत लक्ष्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया