काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी निकायमा आवश्यकता भन्दा बढी सल्लाहकार नियुक्त गर्ने प्रवृत्तिप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले अनावश्यक रूपमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्दा राज्यकोषमाथि थप आर्थिक भार पर्ने भन्दै यस्तो प्रवृत्तिप्रति असन्तुष्टि जनाएका हुन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारको संख्यालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आफूले भने एकजना मात्र सल्लाहकार राखेको बताए।
उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गर्दै आफूले भने अवैतनिक राजस्व सल्लाहकारका रूपमा एकजनालाई मात्र जिम्मेवारी दिएको जानकारी दिए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, ‘तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मैले केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको छु।’
उनले आफूले राजस्व प्रशासन र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको सन्देश दिन उक्त उदाहरण प्रस्तुत गरेको बताए। सल्लाहकार नियुक्तिको विषयमा व्यङ्ग्य गर्दै उनले आफ्नो कार्यशैलीबाट राजस्वको विषयलाई आफूले दिएको महत्त्व स्पष्ट हुने धारणा राखे।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया