काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले पार्टीको वर्तमान राजनीतिक दिशा र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राष्ट्रवादी राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

बिहीबार सार्वजनिक अपिलमार्फत उनले राप्रपाबाट अलग हुँदै देशमा विश्वसनीय, सशक्त र जनविश्वास प्राप्त गर्न सक्ने नयाँ राष्ट्रवादी शक्ति निर्माणमा आफू केन्द्रित हुने बताएका हुन् ।

advertisement

राणाले पछिल्ला चार वर्षमा राप्रपालाई जनभावनाअनुसार अघि बढाउने प्रयास गरे पनि पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गरेका छन् । उनका अनुसार वैचारिक अस्पष्टता, आन्तरिक विरोधाभास र नेतृत्व तहको द्विविधाले पार्टीलाई सही दिशामा अघि बढ्न नदिएको दाबी गरेका छन् ।

‘सैद्धान्तिक अन्योल र विरोधाभासबीच पार्टीलाई गलत दिशातर्फ लैजाने प्रवृत्तिका कारण राप्रपाले जनताको विश्वास गुमाउँदै गएको छ,’ उनले अपिलमा उल्लेख गरेका छन् ।

यद्यपि उनले राप्रपाभित्र रहेका नेता–कार्यकर्तासँग कुनै व्यक्तिगत असहमति वा वैरभाव नरहेको स्पष्ट पारेका छन् । आफूले यो निर्णय शुभेच्छुक, सहयात्री तथा देश–विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझाव र परामर्शका आधारमा लिएको उनको भनाइ छ ।

राणाले राष्ट्रहित, सुशासन र समृद्धिको पक्षमा उभिएका नागरिक तथा विशेषगरी युवा पुस्तालाई आफ्नो नयाँ राजनीतिक अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

‘देशप्रति समर्पित राष्ट्रवादी शक्तिहरू एकजुट भएर स्पष्ट लक्ष्य, स्वच्छ सोच र साझा उद्देश्यका साथ अघि बढ्न आवश्यक छ,’ उनले भनेका छन् ।

राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता, संगठनात्मक दिशा र नेतृत्व शैलीलाई लिएर विभिन्न तहमा असन्तुष्टि देखिँदै आएको छ । राणाको यो निर्णयले पार्टीभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com