काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न नयाँ प्रोत्साहन कार्यक्रम ल्याइने बताएका छन् । उक्त कार्यक्रमअन्तर्गत भ्याट बिल स्वतः लट्री प्रणालीमा समावेश हुने र दैनिक रूपमा विजेता छनोट गरिने व्यवस्था गरिने उनले जानकारी दिए ।
आइतबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले प्रत्येक भ्याट बिललाई डिजिटल लट्री टिकटका रूपमा प्रयोग गर्ने योजना सरकारको रहेको बताए ।
उनका अनुसार सामान वा सेवा खरिद गर्दा लिइने भ्याट बिल स्वतः लट्री प्रणालीमा दर्ता हुनेछ र त्यसबाट दैनिक रूपमा पुरस्कार वितरण गरिनेछ ।
अर्थमन्त्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई समेत यस योजनासँग जोड्ने तयारी भइरहेको जानकारी दिए । यसबाट विदेशमा रहेका नेपालीहरूलाई पनि प्रोत्साहन कार्यक्रमको दायरामा ल्याउने लक्ष्य राखिएको उनले बताए ।
सरकारको विश्वास अनुसार यस्तो व्यवस्थाले उपभोक्तालाई भ्याट बिल लिन प्रेरित गर्ने, कर छली नियन्त्रण गर्न सहयोग पुर्याउने तथा राजस्व संकलनलाई थप प्रभावकारी बनाउनेछ ।
वाग्लेले कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्ता नवप्रवर्तनात्मक कार्यक्रमहरू बजेटमा समावेश गरिएको समेत उल्लेख गरे ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया