काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ ।
आइतबार राति ८ बजे (जेठ १७) बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका आन्तरिक संगठनात्मक विषयहरूबारे विस्तृत छलफल हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठकमा कुल ९ वटा प्रमुख कार्यसूची समावेश गरिएको छ, जसमा पार्टी संरचना, महाधिवेशन तयारी, अनुशासनात्मक विषयदेखि विधान संशोधनसम्मका मुद्दा रहेका छन् ।
बैठकका प्रमुख एजेन्डाहरूमा समसामयिक राजनीति तथा पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभिन्न विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाहीसम्बन्धी विषयहरू रहेका छन् ।
त्यसैगरी प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू, महाधिवेशन निर्वाचन कार्यविधि तथा पार्टीको विधान संशोधनसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ ।
बैठकमा संघीय सांसदहरूको पार्टी जिम्मेवारीसम्बन्धी विषय पनि छलफलमा रहनेछ ।
यस्तै ‘विविध’ शीर्षकअन्तर्गत जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, तहगत अधिवेशनमा प्रतिनिधित्वसम्बन्धी व्यवस्था तथा उम्मेदवारी र प्रतिनिधित्वसँग जोडिएका प्रावधानहरूबारे पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले बताएका छन् ।
पार्टीको संगठनात्मक संरचना मजबुत बनाउने र आगामी महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया