काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको गम्भीर आरोप लगाएका छन् ।

पूर्व तालिकाबिना नै आकस्मिक रूपमा बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको बयानप्रति श्रम संस्कृति पार्टीले कडा आपत्ति जनाउँदै विरोध गरेको हो ।

advertisement

अध्यक्ष साम्पाङद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि भारतलाई रिझाउनका लागि प्रधानमन्त्रीले यस्तो विवादित अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको वास्तविक मुद्दालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता हुनुपर्छ भन्ने नेपाली जनताको जायज मागलाई सामसुम पार्ने तथा नेपालले आफ्नै धेरै ठाउँको भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ ।”

प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थितिका बारेमा गम्भीर अस्पष्टता पैदा गरेको ठहर पार्टीले गरेको छ ।

श्रम संस्कृति पार्टीले सीमा रक्षा र भौगोलिक अखण्डताप्रति वर्तमान सरकार र प्रधानमन्त्री कत्ति पनि प्रतिबद्ध नरहेको आरोप लगाएको छ ।

सरकारले राष्ट्रिय सेनाको प्रयोग गलत ठाउँमा गरिरहेको टिप्पणी गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका सुकुमबासी बस्तीमा हमला गर्नमै सीमित राखिएको छ ।”

आफ्नो सेनालाई सिमानामा चियाउन समेत नपठाउने सरकारका प्रमुखले उल्टै नेपालले नै भारतको सीमा धेरै ठाउँमा मिचेको भन्दै हिँड्नु लज्जास्पद भएको साम्पाङले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको यो गैरजिम्मेवार अभिव्यक्तिले मुलुकको सार्वभौमसत्तामाथि नै आँच पुर्‍याएको भन्दै राजनीतिक वृत्तमा यसको तीव्र आलोचना भइरहेको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com