काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको हो ।
बैठकमा मुख्यतः प्रधानमन्त्री वालेन्द्र शाहले हिजो दिएको अभिव्यक्ति र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भनी दिएको विवादित बयानलाई लिएर विपक्षी दलहरूले साझा रणनीति तय गर्न लागेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने र प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध कुन रूपमा गर्ने भन्नेबारे विपक्षी गठबन्धनले सामूहिक निर्णय लिने तयारी गरेको छ ।
प्रधानमन्त्रीको विवादित अभिव्यक्तिका कारण आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आक्रामक रूपमा कुरा उठाउने र संसद् अवरोधसम्म हुन सक्ने आकलन गरिएको छ ।
परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएकाले विपक्षीहरूले यसलाई संसद्मा मुख्य मुद्दा बनाउने निश्चित देखिएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया