काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको हो ।

advertisement

बैठकमा मुख्यतः प्रधानमन्त्री वालेन्द्र शाहले हिजो दिएको अभिव्यक्ति र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भनी दिएको विवादित बयानलाई लिएर विपक्षी दलहरूले साझा रणनीति तय गर्न लागेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने र प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध कुन रूपमा गर्ने भन्नेबारे विपक्षी गठबन्धनले सामूहिक निर्णय लिने तयारी गरेको छ ।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिका कारण आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आक्रामक रूपमा कुरा उठाउने र संसद् अवरोधसम्म हुन सक्ने आकलन गरिएको छ ।

परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएकाले विपक्षीहरूले यसलाई संसद्‌मा मुख्य मुद्दा बनाउने निश्चित देखिएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com