नवलपरासी। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले राजनीतिक वृत्त तातिरहेका बेला सीमावर्ती क्षेत्र सुस्ता मा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।
प्रधानमन्त्रीको सम्बोधन लगत्तै नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोकेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा बनिरहेको तटबन्धको ८० प्रतिशत काम सकिएका बेला हतियारधारी भारतीय सुरक्षाकर्मीले अवरोध सिर्जना गरेका हुन् ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार साँझ ४०–५० जनाको संख्यामा आएका भारतीय सुरक्षाकर्मीले काम रोक्न चेतावनी दिएका थिए ।
स्थानीय जनप्रतिनिधि र ‘सुस्ता बचाउ अभियान’ का अभियन्ताहरूले यसलाई प्रधानमन्त्रीको अदूरदर्शी अभिव्यक्तिको परिणाम मानेका छन् ।
ऐतिहासिक रूपमा २०३० सालअघि ७५ हजार हेक्टरमा फैलिएको सुस्ता क्षेत्र नदी कटान र भारतीय अतिक्रमणका कारण अहिले ७ हजार हेक्टरमा खुम्चिएको छ ।
भारतीय पक्षले उक्त क्षेत्रलाई विवादित भन्दै काममा आपत्ति जनाएको हो, जबकि स्थानीय दाबी अनुसार तटबन्ध बनिरहेको क्षेत्र भारतीय दाबीभन्दा निकै भित्र नेपालकै भूगोलमा पर्दछ ।
यो घटनाले सीमा क्षेत्रमा तनाव बढाएको छ र स्थानीयवासीहरू चिन्तित बनेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको भूमि र सार्वभौमिकताप्रति गम्भीर असर पार्ने आशंका गरिएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया