काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशन आयोजनाका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ ।

चितवनमा आगामी २०८३ साल असार ७, ८ र ९ गते आयोजना हुन गइरहेको महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टीले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने गरी यो समिति निर्माण गरेको हो ।

advertisement

गठित मूल आयोजक समितिको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल रहेका छन् ।

यसका साथै रास्वपाका सबै केन्द्रीय समिति सदस्यहरू र सबै प्रदेश सभापतिहरूलाई पनि मूल आयोजक समितिको सदस्यका रूपमा समेटिएको छ ।

महाधिवेशनका विभिन्न सांगठनिक र व्यवस्थापकीय कार्यहरूलाई चुस्त बनाउन मूल आयोजक समिति अन्तर्गत विभिन्न १८ वटा प्रस्तावित उपसमितिहरू समेत गठन गरिएको छ ।

जसअन्तर्गत कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति, गुनासो व्यवस्थापन उपसमिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति रहेका छन् ।

त्यस्तै कानुनी समन्वय उपसमिति, प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति, सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति, सूचना प्रविधि उपसमिति, आवास तथा भोजन व्यवस्थापन उपसमिति र अतिथि सत्कार उपसमितिले पनि महाधिवेशनको तयारीलाई गति दिनेछन् ।

यसका साथै हल तथा मञ्च व्यवस्थापन उपसमिति, स्वास्थ्य सेवा उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, यातायात व्यवस्थापन उपसमिति, स्थानीय समन्वय सहकार्य उपसमिति, अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति र अनुशासन उपसमिति पनि प्रस्ताव गरिएका छन् ।

यी सबै उपसमितिहरूले महाधिवेशनलाई मर्यादित, प्रविधिमैत्री र ऐतिहासिक बनाउन आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी सम्हाल्ने गरी तयारी सुरु गरेका छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com