काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन माग गरेका छन्। उनले प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्यगत आधार संसद्मै प्रस्तुत गर्नुपर्ने बताएका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट धारणा राख्दै राईले प्रधानमन्त्रीको अभिव्यक्तिले आफू मात्र होइन, सम्पूर्ण नेपालीको आत्मसम्मानमा चोट पुगेको महसुस भएको बताए।
‘संसद्को रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो। त्यो अभिव्यक्ति संसद्को अभिलेखमा दर्ज भइसकेको छ र भविष्यका लागि नजिरका रूपमा रहनेछ,’ उनले भने।
राईले उक्त अभिव्यक्तिप्रति सत्ता पक्षका सांसदहरूले ताली बजाएको प्रसंग उल्लेख गर्दै त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको विषयमा गम्भीरता आवश्यक रहेको बताए।
उनले प्रधानमन्त्रीलाई पुनः संसद्मा उपस्थित भएर आफ्नो भनाइको आधार सार्वजनिक गर्न चुनौती दिए। ‘नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको हो, त्यसको एक–एक इन्चको हिसाब प्रधानमन्त्रीले संसद्लाई दिनुपर्छ। यो केवल राजनीतिक विषय होइन, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग जोडिएको प्रश्न हो,’ राईले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा सम्बन्धी स्थापित दाबीलाई कमजोर बनाउने तर्क गर्दै भविष्यमा भारतले समेत त्यसलाई आधार बनाउन सक्ने आशंका व्यक्त गरे।
‘यदि भोलि भारतले नेपालले अतिक्रमण गरेको भनिएको भूमि फिर्ता माग्यो भने हामीले कुन भूभाग फिर्ता दिने ?’ भन्दै उनले प्रश्न उठाए।
राईले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणप्रति पनि असहमति जनाए। मन्त्रालयले प्रधानमन्त्रीको भनाइ ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको भूमि उपयोगसँग सम्बन्धित रहेको जनाएको थियो।
तर राईले भूमि अतिक्रमण र सीमा वारपारको उपयोग फरक विषय भएको उल्लेख गर्दै सरकारको व्याख्या असंगत रहेको टिप्पणी गरे। ‘जमिन मिचिएको विषयलाई कसरी क्रस बोर्डर अकुपेसनसँग जोड्न सकिन्छ ? यस्तो संवेदनशील विषयमा सरकार स्पष्ट हुनुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीको अभिव्यक्ति ‘अपरिपक्व र राष्ट्रहितविपरीत’ रहेको दाबी गर्दै राईले त्यसले नेपाललाई नै सीमा अतिक्रमणकारी राष्ट्रका रूपमा चित्रित गर्ने खतरा रहेको बताए।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया