अछाम। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय रहेका युवा नेता लोकेन्द्र साउद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन्।
विद्यार्थी राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका साउदको रास्वपामा प्रवेशसँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।
मेल्लेख गाउँपालिका–४, अछामका स्थायी बासिन्दा साउद लामो समयदेखि विद्यार्थी आन्दोलन र संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन्।
उनले कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा अनेरास्ववियुको क्याम्पस अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।
विद्यार्थी हकहित, शैक्षिक सुधार तथा संगठन विस्तारका विभिन्न गतिविधिमा उनको सक्रिय भूमिका रहेको बताइन्छ।
विद्यार्थी राजनीतिसँगै साउद सामाजिक तथा खेलकुद क्षेत्रसँग पनि जोडिएका छन्।
उनी कञ्चन स्पोर्ट्स क्लबका अध्यक्षका रूपमा स्थानीय युवाहरूलाई खेलकुद गतिविधिमा सहभागी गराउने, प्रतिभावान खेलाडीको पहिचान गर्ने तथा खेल क्षेत्रको विकासमा योगदान पुर्याउने काममा संलग्न रहँदै आएका छन्।
रास्वपामा प्रवेश गरेपछि साउदले देशमा सुशासन, पारदर्शिता र जिम्मेवार राजनीतिक संस्कृतिको आवश्यकता रहेको उल्लेख गर्दै आफूले नयाँ राजनीतिक यात्राको सुरुवात गरेको बताएका छन्।
उनले युवाको भूमिका अझ प्रभावकारी बनाउँदै समाज रूपान्तरणमा योगदान दिने उद्देश्यले रास्वपासँग सहकार्य गर्ने निर्णय लिएको जनाएका छन्।
रास्वपाका स्थानीय नेताहरूले पनि साउदजस्ता युवा र सक्रिय व्यक्तित्वको आगमनले पार्टी संगठनलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरूको भनाइमा विद्यार्थी राजनीति र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका युवाहरूको सहभागिताले पार्टीलाई स्थानीय तहसम्म विस्तार गर्न सहयोग पुग्नेछ।
पछिल्लो समय विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनमा आबद्ध युवाहरू वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित हुने क्रम बढिरहेका बेला साउदको रास्वपामा प्रवेशलाई पनि त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।
अछामसहित सुदूरपश्चिम क्षेत्रमा युवा सहभागिता बढाउने अभियानमा लागेको रास्वपाले आगामी दिनमा संगठन विस्तार र जनसम्पर्क कार्यक्रमलाई थप तीव्र बनाउने तयारी गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया