ललितपुर। गोदावरी नगरपालिका (नेपाल) र विन्डम सिटी काउन्सिल (अष्ट्रेलिया) बीच स्थापित मित्रता शहर सम्बन्ध लाई थप सुदृढ र अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने उद्देश्यले सगरमाथामा संयुक्त मित्रता झण्डा पुर्याउने योजना अघि सारिएको छ।
दुवै स्थानीय तहबीचको सम्बन्धलाई दीर्घकालीन सहकार्यमा रूपान्तरण गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने सहमति भएको छ।
गोदावरी नगरपालिकाले यस मित्रता सम्बन्धलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेट्ने जनाएको छ भने विन्डम सिटी काउन्सिलले पनि यस सहकार्यलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अवसरमा दुवै शहरले आपसी सम्मान, सहकार्य र जनस्तरीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
स्थानीय तहबीचको यस्तो अन्तर्राष्ट्रिय सम्बन्धले संस्कृति, पर्यटन, शिक्षा र आर्थिक सहकार्यका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
मित्रता सम्बन्धलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी वसन्तकालीन हिमाल आरोहण सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथामा गोदावरी नगरपालिका, विन्डम सिटी काउन्सिल तथा संयुक्त अष्ट्रेलिया–नेपाल मित्रताको झण्डा पुर्याउने योजना सार्वजनिक गरिएको छ।

यो अभियानले दुई देशबीचको स्थानीय तहस्तरीय सम्बन्धलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने विश्वास लिइएको छ।
नेपाल–अष्ट्रेलिया सम्बन्धलाई स्थानीय सरकार तहसम्म विस्तार गर्ने यो प्रयास ऐतिहासिक र प्रेरणादायी हुने अभियन्ता तथा पर्यटन व्यवसायी डिएन घिसिङले बताएका छन्।
उनका अनुसार यो अभियानले अन्तर्राष्ट्रिय सहकार्य र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउनेछ।
सफल आरोहणपछि सगरमाथामा पुर्याइने मित्रता झण्डाहरू औपचारिक रूपमा दुवै सिटी काउन्सिललाई हस्तान्तरण गरिने योजना रहेको छ।
यसले दुई शहरबीचको सम्बन्धलाई प्रतीकात्मक मात्र नभई व्यवहारिक सहकार्यतर्फ पनि अघि बढाउने अपेक्षा गरिएको छ।
यसअघि गोदावरी नगरपालिकाका मेयर, जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीले विन्डम सिटीमा पुगेर असल प्रशासनिक अभ्याससम्बन्धी अध्ययन तथा अनुभव आदानप्रदान भ्रमण सम्पन्न गरिसकेको छ।
त्यस क्रममा स्थानीय शासन, सेवा प्रवाह र नगर व्यवस्थापनका विभिन्न पक्षमा छलफल भएको थियो।
त्यसैगरी, विन्डम सिटीका मेयर, काउन्सिलर तथा उद्योगी–व्यवसायीहरूको टोली आगामी असोजमा गोदावरी नगरपालिकाको भ्रमण गर्ने तयारी भइरहेको छ।
उक्त भ्रमणका क्रममा व्यापार, लगानी, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने विषयमा थप छलफल हुने जनाइएको छ।
दुवै पक्षले यस मित्रता सम्बन्धलाई दीर्घकालीन सहकार्यमा रूपान्तरण गर्दै स्थानीय विकास, जनस्तरको सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएका छन्।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया