काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादको घेराबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका छन्।

भारतबाट प्रकाशित हुने दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत् लामिछानेले नेपाल–भारत सम्बन्धको परम्परागत शब्दावली परिवर्तन गर्दै सहकार्यलाई लगानी, व्यापार, ऊर्जा, पर्यटन र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

advertisement

उनका अनुसार दुई देशबीचको सम्बन्ध अब भूराजनीतिक तनावमा आधारित नभई आर्थिक विकास र पारस्परिक समृद्धिको आधारमा अघि बढ्नुपर्छ। उनले कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्रका रूपमा मात्र नभई लगानी, व्यापार र आर्थिक सहकार्य प्रवर्द्धन गर्ने ‘इन्जिन’का रूपमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार नयाँदिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। भेटवार्ता लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ।

‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन् ?’ शीर्षकको लेखमार्फत् लामिछानेले नेपाल–भारत सहकार्यका लागि आठ प्रमुख प्रस्ताव अघि सारेका छन्।

१. सीमा विवाद समाधानका लागि संवादमा जोड

नेपाल–भारत सम्बन्धको आधार आपसी विश्वास हुनुपर्ने उल्लेख गर्दै उनले सीमा लगायतका विवादलाई लामो समयसम्म अल्झाएर राख्न नहुने बताएका छन्। अतिराष्ट्रवादी भाषणभन्दा ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत् समाधान खोज्नुपर्ने उनको धारणा छ।

लेखको अन्त्यमा उनले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमालाई ‘अवरोध होइन, पुल’का रूपमा व्याख्या गरेको स्मरण गर्दै सम्बन्धलाई विगतका आशंकाले होइन, साझा भविष्यका सम्भावनाले परिभाषित गर्नुपर्ने बताएका छन्।

२. रक्सौल–काठमाडौं रेललाई प्राथमिकता

लामिछानेले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई नेपाल–भारत सम्बन्धको सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा उल्लेख गरेका छन्। भारतले दैनिक करिब १५ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले १५० किलोमिटरभन्दा कम दूरीको यो रेलमार्ग सम्पन्न भए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा ठूलो परिवर्तन आउने बताएका छन्।

उनले नेपालले केवल सीमा जोड्ने होइन, रेलमार्फत् सम्पूर्ण अर्थतन्त्र जोड्ने लक्ष्य राखेको उल्लेख गरेका छन्।

३. पोखरा र लुम्बिनीबाट भारतमा सिधा हवाई उडान

नेपाल–भारत हवाई सम्पर्क विस्तारको आवश्यकता औंल्याउँदै उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय सहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

४. ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ अवधारणा

सूचना प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न उनले ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन्। डिजिटल भुक्तानी, फिनटेक तथा सीमापार डिजिटल प्लेटफर्ममार्फत् दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिने उनको भनाइ छ।

५. भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाको विस्तार

भारतका आईटी कम्पनी, स्टार्टअप तथा विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि हब स्थापना गर्न आह्वान गर्दै उनले नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि पारिस्थितिकीसँग जोड्नुपर्ने बताएका छन्।

साथै, उनले नेपालमा भारतीय प्राविधिक तथा स्वास्थ्य क्षेत्रका प्रतिष्ठित संस्थाहरूको विस्तार गर्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) जस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सकिन्छ।

६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना

भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै लामिछानेले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न सहकार्य गर्न सकिने प्रस्ताव गरेका छन्।

उनले यो प्रस्ताव केवल उद्योग स्थापनामा सीमित नभई कृषि उत्पादन, आपूर्ति शृंखला र आर्थिक विकाससँग सम्बन्धित दीर्घकालीन सहकार्यको आधार बन्न सक्ने बताएका छन्।

७. जलविद्युत् र ऊर्जा बजार एकीकरण

नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक करिडोरसँग जोड्नुपर्नेमा जोड दिँदै उनले खण्डित सीमापार व्यापारको सट्टा एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उनले आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट प्रणाली तथा व्यापारिक अवरोध हटाउने पहललाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्।

८. आईपीएलमा नेपाली खेलाडी र रंगशालाको सहभागिता

नेपाल–भारत सम्बन्धलाई राजनीति र कूटनीतिमा मात्र सीमित नराखी खेलकुद क्षेत्रमा समेत विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्दै लामिछानेले खेलकुदलाई सहकार्यको नयाँ सम्भावित क्षेत्रका रूपमा प्रस्तुत गरेका छन्।

हालै आईपीएल फाइनल अवलोकन गरेको उल्लेख गर्दै उनले भविष्यमा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालासमेत आईपीएल फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोच्नुपर्ने बताएका छन्।

लामिछानेले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’को संज्ञा दिँदै देश नयाँ राजनीतिक यथार्थतर्फ अघि बढिरहेको बताएका छन्। उनले रास्वपाको उदयलाई पुरानो राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीति रोजेको दाबी गरेका छन्।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com