काठमाडौं । सरकारले ओजोन तह संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनलाई अघि बढाउँदै संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गतको मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणका लागि आवश्यक सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। उक्त निर्णयलाई वातावरण संरक्षण र जलवायु उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा नायब महानिरीक्षक (डीआईजी) अन्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्न बनाइएको समितिको कार्यावधि थप ४५ दिनका लागि विस्तार गरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएका सुरक्षा संयन्त्रसम्बन्धी विषयहरूको अध्ययन गरी आवश्यक सुझाव पेश गर्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ।
मन्त्रिपरिषद्ले भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा समेत नियुक्ति गरेको छ। निर्णयअनुसार कास्कीका बलभद्र बास्तोला आयोगको अध्यक्षमा नियुक्त भएका छन्।
यस्तै, आयोगका सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती तथा काठमाडौंकी डा. रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारका यी निर्णयहरू प्रशासनिक संरचना सुदृढीकरण, वातावरणीय दायित्वको कार्यान्वयन तथा भूमि व्यवस्थापनसम्बन्धी कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको बताइएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया