काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन्।
मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यवाही सुरु गर्नासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
विरोधमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू सहभागी थिए। उनीहरूले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
विपक्षी दलहरूको भनाइमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान, सार्वभौमिकता र सीमा सम्बन्धी दाबीलाई कमजोर बनाएको छ। त्यसैले उक्त भनाइ संसद्को रेकर्डमा राख्न नहुने उनीहरूको तर्क छ।
सांसदहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने तथा संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने मागसमेत गरेका छन्।
विपक्षी दलहरूको नाराबाजी र विरोधका कारण बैठकको नियमित कार्यसूची प्रभावित भएको थियो। यस विषयमा सभामुखले दलहरूबीच सहमति खोज्ने प्रयास जारी राखेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर पछिल्ला केही दिनयता संसद् र राजनीतिक वृत्तमा तीव्र बहस भइरहेको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया