काठमाडौं। नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्टिकरण दिनुपर्ने माग गरेको छ।
एमालेले उक्त अभिव्यक्ति गल्तीवश आएको भए सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने र नियतवश आएको भए प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्ने धारणा राखेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा व्यक्त गरेको भनाइले राष्ट्रिय हित र नेपालको स्थापित सीमा अडानमाथि प्रश्न उठाएको बताए।
उनले प्रधानमन्त्रीले अनजानेमा वा तथ्यगत त्रुटिका कारण त्यस्तो अभिव्यक्ति दिएको भए संसद्मा उपस्थित भएर नेपाली जनतासँग माफी माग्नुपर्ने बताए।
तर, यदि उक्त भनाइ नियतपूर्वक आएको हो भने त्यसको राजनीतिक र नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ थियो।
सांसद ठगुन्नाले नेपालले लामो समयदेखि दाबी गर्दै आएका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र सम्बन्धी राष्ट्रिय अडानलाई प्रधानमन्त्रीको अभिव्यक्तिले कमजोर बनाएको आरोप लगाए।
उनले यस्ता संवेदनशील विषयमा सरकार प्रमुखबाट आउने भनाइले देशको कूटनीतिक स्थिति र अन्तर्राष्ट्रिय सन्देशमा प्रभाव पार्ने भएकाले अत्यन्त जिम्मेवार हुनुपर्ने बताए।
उनले सीमा सम्बन्धी विषय राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएकाले यसलाई सामान्य राजनीतिक टिप्पणीका रूपमा लिन नमिल्ने उल्लेख गरे।
संसद्मा व्यक्त भएका अभिव्यक्तिले भविष्यमा नजिरको रूपमा काम गर्ने भएकाले प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने एमालेको माग छ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा लगातार विरोध भइरहेको छ भने विपक्षी दलहरूले सदनमा अवरोधसमेत जारी राखेका छन्।
सीमा सम्बन्धी विषयमा सरकार र विपक्षीबीच देखिएको मतभेदका कारण संसदीय गतिविधि प्रभावित बन्दै गएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया