काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदनमै आएर माफी माग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्रीले भारतलाई रिझाउने उद्देश्यले उक्त अभिव्यक्ति दिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताए। प्रधानमन्त्री शाहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने भनाइले नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामाथि नै प्रश्न उठाएको उनको तर्क छ।
हर्कराज राई ले नेपालले भारतको कहाँ र कति भूभाग मिचेको हो भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट जानकारी दिनुपर्ने माग गरे। प्रधानमन्त्रीजस्तो कार्यकारी प्रमुखबाट यस्तो अभिव्यक्ति आउनु अनुचित भएको उल्लेख गर्दै उनले त्यसका कारण विभिन्न क्षेत्रमा नकारात्मक सन्देश गएको दाबी गरे।
उनले प्रधानमन्त्रीको भनाइपछि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गतिविधि बढेको र विभिन्न योजनामा समेत असर परेको भन्ने चर्चा सार्वजनिक रूपमा आएको बताए।
राईले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै संसद्मा माफी नमागेसम्म अन्य विषयमा छलफल अघि बढ्न नदिने चेतावनीसमेत दिए। राष्ट्रियताको विषय बजेटभन्दा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको जवाफ र माफीलाई आफ्नो पार्टीको मुख्य अडान बनाएको बताए।
साथै, पूर्वनिर्धारित कार्यतालिकाबिना नै संसद् बैठक बोलाइएको विषयप्रति पनि उनले प्रश्न उठाएका छन्। उनले उक्त बैठक आकस्मिक रूपमा किन बोलाइयो भन्ने विषयमा समेत शंका व्यक्त गरेका छन्।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया