काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) बीच दुई दलीय सम्बन्ध विस्तार तथा राजनीतिक सहकार्यका विविध पक्षबारे नयाँ दिल्लीमा छलफल भएको छ।
भाजपाको निमन्त्रणामा दिल्ली पुगेको रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भाजपा नेताहरूसँग भेटवार्ता गर्दै दुवै दलबीचको सम्बन्धलाई संस्थागत र सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरेको हो।
भेटमा पार्टीगत कार्यदिशा, संगठनात्मक अभ्यास तथा युवा सहभागिता र प्रविधि–मैत्री राजनीतिक अभ्यासबारे समेत छलफल भएको जनाइएको छ।
विशेषगरी राजनीतिक दलहरूमा जेन–जी पुस्ताको भूमिका, संगठन निर्माण र आधुनिक सञ्चार रणनीतिबारे अनुभव आदान–प्रदान गरिएको बताइएको छ।
वार्तापछि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले दुई दलबीचको संवादले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार राजनीतिक तथा कूटनीतिक स्तरमा संवाद विस्तार गर्नु यस भेटको मुख्य उद्देश्य हो।
कार्यक्रमका क्रममा नेपाली प्रतिनिधिमण्डलले भाजपाको आधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको अवलोकन समेत गरेको जनाएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया