काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा विवाद सुल्झाउन तेस्रो पक्षको कुनै भूमिका नरहने जानकारी दिएको छ।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा सम्बन्धमा तेस्रो पक्षको भूमिका नभएको जानकारी दिएका हुन्।
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सम्बोधन गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा सम्बन्धनमा ब्रिटिस सरकार (बेलायत)सँग पनि कुरा गर्ने बताएका थिए। सोही सम्बन्धमा भारतीय विदेश मन्त्रालयले तेस्रो पक्षको भूमिका नरहेको जिकिर गरेको हो।
प्रवक्ता जैसवालले दुई देशबीचको सीमा समस्या समाधान गर्न विभिन्न मेकानिज्म (संयन्त्रहरू) रहेको र त्यही संयन्त्रले यस विषयमा विस्तृत छलफल गर्ने बताए। ‘नेपाल र भारतबीचको ९८ प्रतिशत सीमामा कुनै समस्या छैन। केही स्थानमा समस्या छन्। ती समस्या दुई देशबीचको स्थापित संयन्त्रले समाधान गर्छ। तेस्रो पक्षको भूमिका छैन,’ उनले भने।
उनले गण्डक नदीको बहाबका कारण सीमा समस्या उत्पन्न भएको बताए। उनले सीमापार र दशगाजा क्षेत्रमा पनि अतिक्रमणको समस्या रहेको स्पष्ट पारे। ‘ती समस्यालाई संयुक्तरूपमा समाधान गर्ने काम भइरहेको छ।
‘नेपाल र भारतबीच भएका द्विपक्षीय मामिलामा कुनै पनि प्रकारको तेस्रो पक्षको भूमिका छैन,’ उनले प्रष्ट पारे।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया