नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातामाटे क्षेत्रका स्थानीय बासिन्दाले यहाँ सञ्चालनमा रहेको हिरा टेक्सटाइल उद्योगबाट फैलिएको प्रदूषण तत्काल नियन्त्रण गर्न माग गरेका छन्।
स्थानीयका अनुसार करिब दश वर्षदेखि निरन्तर सञ्चालनमा रहेको उद्योग दैनिक बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म चल्ने गरेको छ। उद्योगबाट निस्कने धुवाँ, धुलो र अत्यधिक आवाजका कारण स्थानीयको जनजीवन प्रभावित बनेको उनीहरूको गुनासो छ।

स्थानीयवासीले उद्योगबाट निस्कने प्रदूषणले वातावरण मात्र नभई मानव स्वास्थ्यमा समेत गम्भीर असर पुर्याइरहेको बताएका छन्। उनीहरूका अनुसार लामो समयदेखि प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायमा पटक–पटक गुनासो र ध्यानाकर्षण गराइए पनि समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल भएको छैन।
उद्योग व्यवस्थापनले समुदायको चिन्ता र गुनासोलाई बेवास्ता गर्दै उद्योग सञ्चालन गरिरहेको स्थानीयको आरोप छ। प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी प्रभावित भएको उनीहरूको भनाइ छ।

“धुवाँ र धुलोका कारण घरभित्र बस्न समेत कठिन हुने अवस्था छ, तर हाम्रो आवाज कसैले सुनेको छैन,” एक स्थानीयले गुनासो गरे।
स्थानीयवासीले उद्योगबाट निस्कने प्रदूषणको वैज्ञानिक परीक्षण, वातावरणीय प्रभावको अध्ययन तथा तत्काल नियन्त्रणका उपाय लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले उद्योगको नियमित अनुगमन गरी कानुनी मापदण्ड पालना भए–नभएको छानबिन गर्न समेत आग्रह गरेका छन्।
स्थानीयले यदि प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चालिएन भने सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया