काठमाडौं। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ।
बढ्दो लागत र प्राविधिक कारणले आयोजनामा देखिएको बजेट अभाव पूर्ति गर्न जापान सरकारले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण सहायता दिने निर्णय गरेको हो।
यससम्बन्धी समझदारी पत्रमा नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायबीच हस्ताक्षर भएको छ।
यसअघि सन् २०१६ मा उक्त सुरुङमार्गका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोग सम्झौता भएको थियो।
पछिल्लो थप सहयोगसँगै आयोजनामा जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ।
निर्माण सन् २०१९ बाट सुरु भएको नागढुंगा सुरुङमार्ग यसै वर्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
यो आयोजना सञ्चालनमा आएपछि काठमाडौँ–नागढुंगा खण्डको सवारी आवागमन सहज हुने, समय बचत हुने तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया