काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई संयमता अपनाउन आग्रह गर्दै राजनीतिक शक्ति र सत्ताको अहंकारमा अघि नबढ्न चेतावनी दिएका छन्।
बुधबार एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले वर्तमान शासन व्यवस्थालाई ‘अराजक तन्त्र’ को संज्ञा दिए।
उनले इतिहासमा कुनै पनि शासन व्यवस्था स्थायी नरहेको उल्लेख गर्दै वर्तमान सत्तापक्षलाई समयको वास्तविकता बुझ्न आग्रह गरे। ‘समय र परिस्थिति सधैँ एउटै रहँदैन। उत्ताउलिएर धेरै अघि बढ्ने प्रयास नगर्नुहोस्,’ उनले भने, ‘राणाशासन ढल्यो, पञ्चायती व्यवस्था ढल्यो, राजतन्त्र पनि समाप्त भयो। अहिलेको अराजक तन्त्र पनि कति समय टिक्छ भन्ने प्रश्न छ। यो लामो समय चल्न सक्दैन।’
अध्यक्ष ओलीले पछिल्ला राजनीतिक घटनाक्रमलाई सही सन्दर्भमा विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै भदौ २३ र २४ गते भएका गतिविधिलाई राष्ट्रियता तथा देशभक्तिविरुद्ध केन्द्रित आन्दोलनका रूपमा व्याख्या गरे।
उनले राजनीतिक दल, कार्यकर्ता र आम नागरिकलाई वर्तमान परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै राष्ट्रिय हितको पक्षमा उभिन आग्रह समेत गरे।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया