काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्ल ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाइएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भीर त्रुटि गरेको आरोप लगाएको छ।
बुधबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा सांसद रमेशकुमार मल्लले संसद्को प्रक्रियाबाट अघि बढिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफूखुसी फेरबदल गर्नु गम्भीर विधिगत त्रुटि भएको दाबी गरे।
उनले संसद्मा दर्ता भइसकेको विधेयक “संसद्को सम्पत्ति” हुने भएकाले त्यसमा कुनै पनि परिवर्तन गर्नुपर्ने भए संसद्कै प्रक्रिया अनुसार मात्र गर्न पाइने स्पष्ट व्यवस्था रहेको बताए। तर सरकार स्वयंले विधेयक सच्याएर पुनः अपलोड गर्नु कानुनी र संसदीय मर्यादाविपरीत भएको उनको आरोप छ।
सांसद मल्लले वर्तमान सरकारले एकपछि अर्को गर्दै विधिको शासन मिच्ने प्रवृत्ति देखाएको जिकिर गर्दै यो घटनाले त्यसैको निरन्तरता देखाएको बताए।
“दुःखद कुरा के भयो भने माननीय अर्थमन्त्रीज्यूले बजेटसँग सम्बन्धित आर्थिक विधेयक संसद्मा पेस गर्नुभयो। तर पछि अर्थ मन्त्रालयले नै त्यसलाई संशोधन गरेर पुनः अपलोड गर्यो,” उनले भने, “जबकि संसद्मा पेस भइसकेपछि त्यो विधेयक संसद्को सम्पत्ति हुन्छ, त्यसमा फेरबदल गर्ने अधिकार संसद्सँग मात्रै हुन्छ।”
उनका अनुसार कुनै पनि विधेयक संसद्मा दर्ता भइसकेपछि त्यसमा संशोधन गर्ने अधिकार केवल संसद्को प्रक्रिया अनुसार मात्र हुन्छ। सरकारलाई विधेयक सच्याउनुपर्ने भए संसद्बाट फिर्ता लिनुपर्ने वा संसदीय प्रक्रियाबाट संशोधन अघि बढाउनुपर्ने व्यवस्था रहेको उनले स्मरण गराए।
सांसद मल्लले सत्तारूढ दलका सांसदहरूले संशोधन हालेर वा संसद्ले फिर्ता पठाएर मात्र विधेयक सच्याउन सकिने अवस्था हुँदाहुँदै सरकार स्वयंले विधेयक परिवर्तन गरेर पुनः सार्वजनिक गर्नु गम्भीर त्रुटि भएको बताए।
“सरकारले आफैँले दर्ता भइसकेको विधेयक सच्याएर अपलोड गर्नु विधिशास्त्रको हिसाबले पनि ठूलो गल्ती हो,” उनले भने, “सरकार किन एकपछि अर्को गर्दै विधि मिचिरहेको छ भन्ने हाम्रो प्रश्न हो।”
उनले यस्तो अभ्यासले संसद्को गरिमा कमजोर बनाउने मात्र होइन, विधिको शासनमाथि नै प्रश्न उठाउने खतरा रहेको चेतावनी दिए। साथै सरकारले तत्काल स्पष्टता दिनुपर्ने र भविष्यमा यस्ता प्रक्रिया दोहोरिन नदिन आवश्यक सुधार गर्नुपर्ने माग पनि उनले राखे।
यो विषय संसद् र सरकारबीचको अधिकार क्षेत्रबारे नयाँ बहसको विषय बनेको देखिएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया