काठमाडौं। विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेस प्रदेशका सांसद तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंह लाई चार वर्ष एक महिना कैद सजाय सुनाएको छ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गर्दै सिंहलाई ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तथा एक लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति असुलउपर गर्ने फैसला पनि गरेको हो।

advertisement

यसअघि अदालतले जेठ ४ गते सिंहलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको थियो। त्यसपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असोज ३० गते सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आरोपअनुसार संसदीय विकास कोषअन्तर्गत सञ्चालन भएको एक विकास आयोजनामा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरिएको थियो।

अनुसन्धानका क्रममा विकास आयोजनाका लागि विनियोजित ३८ लाख ५० हजार ३३९ रुपैयाँ अनियमित ढंगले निकालेर व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पुष्टि भएको अख्तियारको दाबी थियो।

उक्त रकम स्वकीय सचिवमार्फत निकालेर आफ्नो तथा श्रीमतीको बैंक खातामा जम्मा गरिएको आरोप पनि लगाइएको थियो।

सोही आधारमा अदालतले सिंहलाई दोषी ठहर गर्दै कैद, जरिवाना र क्षतिपूर्तिसहितको सजाय सुनाएको हो।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com