रूपन्देही । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले बदलिँदो राजनीतिक, सामाजिक र प्रविधिगत परिवेशअनुसार पार्टीलाई पुनर्गठन गर्दै नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले पार्टीको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै संगठनात्मक पुनर्संरचना र डिजिटल रूपान्तरणलाई समयको मागका रूपमा प्रस्तुत गरेका छन्।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले एमालेले पछिल्ला निर्वाचनहरूमा अपेक्षाकृत कमजोर नतिजा व्यहोरेको भन्दै त्यसबाट नेतृत्व र संगठन दुवैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए।
उनले एक समय बलियो संसदीय उपस्थिति र व्यापक जनआधार भएको एमाले अहिले नयाँ चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै पार्टीलाई पुनः जनविश्वासको केन्द्रमा स्थापित गर्न नवीन सोच, आधुनिक कार्यशैली र प्रभावकारी संगठन निर्माण अपरिहार्य रहेको धारणा राखे।
पाण्डेका अनुसार केही निर्वाचन क्षेत्रमा पार्टी सदस्यको संख्याभन्दा कम मत प्राप्त भएको तथ्यले संगठनभित्रका कमजोरीहरू उजागर गरेको छ। त्यसैले सदस्यता वितरणदेखि वडा, पालिका, जिल्ला हुँदै केन्द्रसम्मका संगठनात्मक संरचना र कार्यपद्धतिको व्यापक पुनरावलोकन आवश्यक रहेको उनले बताए।
उनले अबको युग कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत संरचना र शैलीबाट बाहिर निकालेर प्रविधिमैत्री तथा डिजिटल प्रणालीमा आधारित आधुनिक राजनीतिक संगठनका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
‘पुरानै ढाँचाका गतिविधिले मात्र अबको राजनीतिक प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिँदैन,’ उनले भने, ‘पार्टीले प्रविधि, सूचना प्रणाली र डिजिटल माध्यमको अधिकतम उपयोग गर्दै नयाँ पुस्तासँग जोडिने रणनीति अवलम्बन गर्नुपर्छ।’
नेता सुरेन्द्र पाण्डेले समाज, राजनीति र विश्व व्यवस्था निरन्तर परिवर्तन भइरहेकाले पार्टीका विचार, नेतृत्व विकासको शैली र संगठनात्मक संस्कृतिमा पनि समयानुकूल सुधार आवश्यक रहेको बताए।
उनले जननेता मदन भण्डारीको समयदेखि हालसम्म विश्व राजनीति, अर्थतन्त्र, सञ्चार प्रविधि र सामाजिक संरचनामा व्यापक परिवर्तन आइसकेको उल्लेख गर्दै एमालेले पनि ती परिवर्तनलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे।
वर्तमान अवस्थामा यथास्थितिवादले पार्टी आन्दोलनलाई अगाडि बढाउन नसक्ने निष्कर्ष निकाल्दै उनले संगठन सुधार, पुनर्संरचना र भविष्यको कार्यदिशा तय गर्न अध्ययन तथा सुझाव संकलनका लागि गठित कार्यदलले काम गरिरहेको जानकारी दिए।
पार्टीलाई नयाँ ऊर्जा, विश्वास र कार्यदिशासहित पुनर्जीवित गर्न व्यापक संगठनात्मक सुधार र आधुनिक सोच आवश्यक रहेको उनको निष्कर्ष थियो।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया