काठमाडौं। सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका ओखलढुंगाका अनुभवी पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवितै फेला परेका छन्।

खुम्बु आइसफल क्षेत्रमा अत्यन्त कठिन अवस्थामा भेटिएका उनको उद्धार प्रक्रिया सुरु गरिएको छ।

advertisement

उद्धारमा संलग्न टोलीका अनुसार शेर्पा हिउँमा घिस्रिँदै तलतिर झर्दै गरेको अवस्थामा फेला परेका हुन्।

लामो समय अत्यधिक चिसो र प्रतिकूल मौसममा बिताएकाले उनका हातका केही औँलामा फ्रस्टबाइटको असर देखिएको बताइएको छ।

दावा शेर्पाको खोजीका लागि बुधबार हेलिकोप्टरसहित विशेष उद्धार अभियान सञ्चालन गरिएको थियो।

सगरमाथा आधार शिविरदेखि उच्च हिमाली क्षेत्रमा खोजी तीव्र पारिएपछि उनी जीवितै फेला परेका हुन्।

उद्धार टोली घटनास्थलमा पुगिसकेको र प्रारम्भिक उपचारपछि उनलाई आधार शिविर हुँदै थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ।

शेर्पा जेठ १५ गते एक विदेशी आरोहीलाई सगरमाथा आरोहण गराएर फर्किने क्रममा तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए।

त्यसपछि उनको खोजीका लागि विभिन्न निकाय र पर्वतारोहण कम्पनीहरू सक्रिय भएका थिए।

प्रतिकूल मौसम, उच्च हिमाली जोखिम र लामो समय सम्पर्कविहीन रहेको अवस्थाका बाबजुद उनी जीवितै फेला पर्नुलाई पर्वतारोहण क्षेत्रमा दुर्लभ र आश्चर्यजनक घटनाका रूपमा हेरिएको छ।

उद्धार सफल भएपछि पर्वतारोहण समुदाय तथा उनका परिवारजनमा खुसी छाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com