काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शनिबारदेखि तीनदिने औपचारिक भारत भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागिता जनाउनेछन्।

advertisement

भ्रमण तालिकाअनुसार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। भेटका क्रममा दुई देशबीचको कूटनीतिक, आर्थिक तथा आपसी हितका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

खनालको भारत भ्रमण सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण लगत्तै हुन लागेको हो। पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ भने त्यसको भोलिपल्ट परराष्ट्रमन्त्री खनाल भारत जानेछन्।

नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवाद तथा कूटनीतिक सम्पर्कलाई थप सक्रिय बनाउने सन्दर्भमा मन्त्री खनालको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणले द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com