कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ मालटोलकी १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। बुधबार मध्यरातमा आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको बताइएको छ।
सर्पदंशपछि परिवारले तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्वदर्शन उपचार केन्द्र लगिएको भए पनि उपचार केन्द्र पुग्नुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकहरूले बताएका छन्।
हालै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेकी रियाले कक्षा ११ मा अध्ययन गर्ने तयारी गरिरहेकी थिइन्। तर उच्च शिक्षाको सपना पूरा हुन नपाउँदै उनको असामयिक निधन भएको छ।
सामाजिक सञ्जाल टिकटकमा ‘Waiting for Death’ नामक आइडीमार्फत सक्रिय रहेकी रियाको अकाल निधनले परिवार, साथीभाइ र स्थानीयवासीलाई स्तब्ध बनाएको छ।
प्रहरीका अनुसार शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ। रिया आफ्ना आमाबाबुको एक्ली सन्तान थिइन्।
उनको निधनपछि गाउँभर शोक छाएको छ भने परिवार गहिरो पीडामा परेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया