काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सङ्गठनलाई मजबुत बनाउन निर्देशन दिँदै नेता तथा कार्यकर्ताहरूलाई गलत काममा खबरदारी गर्न आग्रह गरेका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाका समर्थकहरू अन्धभक्त मात्र नभई सजग नागरिक भएको स्पष्ट पारे । नेतृत्वले बाटो बिराएमा सही मार्गमा ल्याउने जिम्मेवारी पनि समर्थकहरूकै भएको उनको भनाइ थियो ।
सम्बोधनका क्रममा उनले भने, “हामीले केही खराब गर्यौँ भने सल्लाह र सुझाव दिनुहोला । जुन आँट र भरोसाका साथ तपाईंहरूले घर-घरमा पुगेर घण्टीमा भोट हाल्नुस् भन्नुभएको थियो, म वाचा गर्छु, हामी तपाईंहरूको शिर निहुरिने कुनै पनि काम गर्ने छैनौँ ।”
सभापति लामिछानेले रास्वपाका समर्थकहरूले सहीलाई सही र गलतलाई गलत भन्न सक्ने विवेक राख्ने दाबी गरे । पार्टीले आफ्ना सदस्यहरूको आलोचना र खबरदारी गर्ने अधिकार कहिल्यै नखोस्ने उनले बताए ।
“कहीँ कतै हाम्रा निर्णयहरू बिग्रिएछन् भने हामीलाई सच्याउने अवसर पनि दिनुहोला, हामीलाई खबरदारी पनि गर्नुहोला,” लामिछानेले थपे, “रास्वपा समर्थकहरू केवल समर्थन मात्र गर्दैनन्, गलत भए खबरदारी पनि गर्छन्, यो कुरा तपाईंहरूमा सधैँ छ । हामीले बाटो बिरायौँ भने हामीलाई ट्र्याकमा ल्याउनका निमित्त मद्दत गर्ने जिम्मेवारी पनि तपाईंहरूको काँधमा छ ।”
वर्तमान सरकारको कामकारबाही र नियतमाथि उठिरहेका प्रश्नहरूका बीच लामिछानेले सरकारको बचाउ गरेका छन् । उनले सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको जिकिर गरे । काम गर्ने सिलसिलामा केही प्राविधिक वा प्रक्रियागत कमजोरी भए पनि सरकारको उद्देश्य देश र जनताको हितमै केन्द्रित रहेको उनले दाबी गरे ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया