काठमाडौं। महानायकका रूपमा परिचित वरिष्ठ अभिनेता राजेश हमाल ले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियता र सीमा विवादका विषयमा एक गम्भीर स्टाटस लेख्दै देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न उठाएका छन् ।
अभिनेता हमालको यो अभिव्यक्ति केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको एक वक्तव्यप्रति लक्षित रहेको रूपमा बुझिएको छ ।
हमालले आफ्नो स्टाटसमा नेपालको सीमा सम्बन्धमा चल्ने बहसहरूलाई बौद्धिक र कूटनीतिक रूपमा केलाउँदै ‘सीमापार अतिक्रमण’ (क्रस बोर्डर अकुपेसन) र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ (स्टेट स्पोन्सर्ड टेरिटोरियल इन्क्रोचमेन्ट) बीचको तात्विक भिन्नता प्रष्ट पारेका छन् ।
हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः सरकारभन्दा बढी स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग सम्बन्धित हुन्छ ।
नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएको उल्लेख गर्दै उनले नदीहरूले धार परिवर्तन गर्नु, सीमा स्तम्भहरू हराउनु वा क्षतिग्रस्त हुनु र बस्तीहरू विस्तार हुनु जस्ता विषय रणनीतिक विस्तार नभएर प्रशासनिक र स्थानीय प्रकृतिका समस्या भएको बताएका छन् ।
यस्ता समस्याको समाधान आपसी संवाद, संयुक्त सर्वेक्षण र सहकार्यबाट सम्भव हुने उनको तर्क छ ।
तर, ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ को प्रकृति पूर्णतः फरक र गम्भीर हुने हमालले उल्लेख गरेका छन् ।
कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुँदा यस्तो अतिक्रमण हुने र यसमा व्यक्तिहरू नभई राज्यका संस्थाहरू नै संलग्न हुने उनले प्रष्ट पारेका छन् ।
सडक निर्माण, प्रशासनिक संरचना खडा गर्ने, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधन र राज्यको अधिकार औपचारिक रूपमा लागू गर्ने जस्ता कार्य यस अन्तर्गत पर्ने भन्दै उनले यसको सबैभन्दा प्रमुख उदाहरण कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र रहेको बताएका छन् ।
स्टाटसको अन्त्यमा कूटनीतिक संवेदनशीलता र देशको नेतृत्वको क्षमतामाथि जोड दिँदै हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।”
हलुका र सतही टिप्पणीभन्दा गम्भीर कूटनीतिक मामिलामा परिपक्व नेतृत्व आवश्यक हुनेतर्फ संकेत गर्दै हमालले राखेको यो विचारलाई यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया